नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सोलुखुम्बु प्रदेश ‘क’ सभापतिमा धनजन राईको उम्मेदवारी
गएको भदौ २२ गते सोलुखुम्बु जिल्लाभरिकै ५२ वटा वडामा सफलता पूर्वक वडा अधिवेशन सकिएपछि यहि असोज १२ गते हुने प्रदेश सभा क्षेत्रिय अधिवेशनमा सभापतिको उम्मेदवारी राईले घोषणा गरेका हुन् । राई यसअघि पनि सोलुखुम्बु प्रदेश ‘क’ तदर्थ समितिको क्षेत्रिय सभापति थिए ।
प्रदेश क्षेत्रिय सभापतिका उम्मेदवार राई वि.सं. २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रुपमा हालसम्म लागिरहेका छन् । तत्कालिन सशस्त्र माओवादी द्धन्द्धकालमा पनि उनी गाउँमै बसेर कांग्रेसको राजनीति गरेका थिए ।

को हुन् धनजन राई
सोलुखुम्बु जिल्लाको दक्षिण पश्चिममा अवस्थित साविकको सल्यान गाउँ विकास समिति वडा नं. ७ रुगाँ (हाल नेचासल्यान १)मा वि.सं. २०२३ सालमा उनी जन्मिएका थिए । उनको प्रारम्भिक शिक्षा गाउँमै भएको थियो ।
बाल्यकालदेखिनै शालिन र शान्त स्वभावका राई अझैपनि उस्तै स्वरुपमा देखिन्छन् । किशोर अवस्थादेखिनै विभिन्न सामाजिक सेवामा समर्पित भएका उनी युवा अवस्थामा पुगेपछि राजनीतिमा आकर्षित भएका थिए । वि.सं. २०४८ सालदेखि सक्रिय राजनीतिमा लागेका उनी एक वर्षपछि अर्थात वि.सं. २०४९ सालमा साविकको सल्यान गाउँ विकास समितिमा नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्षको उम्मेदवारी दिएका थिए । निर्वाचनमा उनले अत्याधिक मत ल्याई उपाध्यक्षमा निर्वाचित भएका थिए ।
उपाध्यक्ष भएपछि उनले गरेको लोकप्रिय कामका कारण वि.सं. २०५४ सालमा पुन साविककै गाविसमा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिए । उपाध्यक्ष हुँदा गरेको काम र अनुभवले अध्यक्ष पदमा पनि उनी अत्याधिक मतले चुनाव जिते । अध्यक्ष भएपछि उनले करिब १ वर्षजति मात्रै राम्रोसँग काम गर्न पाए । किनभने तत्कालिन समयमा सशस्त्र द्धन्द्ध गाउँगाउँमा फैलिरहेको थियो ।
उनी वि.सं. २०५५ सालमा नेपाली कांग्रेस सल्यान गाउँ पार्टीको सभापति भएका थिए । देशमा शसस्त्र द्धन्द्ध शुरु गरेको तत्कालिन माओवादीले नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुलाई छानीछानी कारबाहि गर्न थाले । उनीसँगैका धेरै नेता, कार्यकर्ताहरु गाउँ छोडेर सुविधा सम्पन्न शहरतिर लागे । तर, राईभने गाउँमै आम जनताको माझमा बसेर उनीहरुको दुःख, सुखमा साथ दिएर बसे ।

उनलाई पनि तत्कालिन माओवादीका नेता, कार्यकर्ताहरुले दिनुसम्मको दुःख दिए । भकारीमा राखेको धान झिकेर आफै कुटेर भात पकाएर खाईदिए । चन्दाको नाममा लाखौं रुपैयाँ लगे । आर्थिक, सामाजिक र भौतिक रुपमा उनलाई कारबाही गर्ने पटक-पटक चेतावनी दिए । तर, उनी गाविसको उपाध्यक्ष र अध्यक्ष हुँदा गरेको लोकप्रिय कामले बचायो । जनताको दुःख, सुखमा साथ दिएकैले उनी जनताको प्रिय नेता भएर निर्धक्कसँग जनताकै माझमा गाउँमा बसिरहे ।
अहिले पनि उनी गाउँमै बसेर नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागिरहेका छन् । संगठन विस्तारमा कहिले महाकुलुङ त, कहिले माप्य, कहिले थुलुङ दुधकोशी त कहिले सदरमुकाम पुगेर निरन्तर पार्टी संगठनमा लागिरहेका छन् ।

उनी स्थानीय तहको निर्वाचनमा नेचासल्यान गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएर चुनावमा होमिए । तर, आफ्नै पार्टीका केहि नेताहरु उनको विरुद्धमा बागि उम्मेदवार दिएर उनलाई हराए ।
उनी राजनीतिमा मात्रै होइन गाउँको विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि सक्रिय रुपमा सेवा गरिरहेका छन् । पदमा होस या नहोस उनी निरन्तर जनताको सेवामा लागिरहेकै छन् । ‘जनताको सेवा गर्न कुनै पद चाँहिदैन, मन भए पुग्छ ।’ नेता राईले भने ।

साभार सगरमाथा अनलाई डटकम
