इरानी आणविक वैज्ञानिकको हत्यामा ’आर्टिफिसियल इन्टेलिजेन्स सहितको मेसिनगनको प्रयोग’
इरानको रेभुलस्नरी गार्ड्सका एकजना कमाण्डरले गत महिनाको अन्त्यतिर वरिष्ठ आणविक वैज्ञानिक मारिँदा ’आर्टिफिसियल इन्टेलिजेन्स सहितको’ स्याटलाइट नियन्त्रित मेसिनगन प्रयोग भएको बताएका छन् ।
नोभेम्बर २७ मा तेहरान शहरभन्दा बाहिर मोहसेन फक्रिजादे सवार गाडीमा गोली प्रहार गरेर उनलाई मारिएको थियो । गार्ड्सका सहायक रथी अलि फदवीले स्थानीय सञ्चारमाध्यमहरूलाई फक्रिजादेलाई मारिएको हतियार एउटा पीकअप गाडीमा राखिएको बताए ।
उनले एउटा विशिष्ठ प्रणालीले छेवैमा रहेकी वैज्ञानिककी श्रीमतीलाई कुनै असर नगरीकन ती वैज्ञानिकको अनुहार पहिचान गर्न सकेको र उनलाई तेह्रवटा गोली हानिएको बताए । अब्सर्ड शहरमा कारबाट यात्रा गरिरहेका बेला ती वैज्ञानिकलाई कसरी गोली हानेर मारियो भन्ने विषयमा इरानी अधिकारीहरूले फरक(फरक विवरण सार्वजनिक गरिरहेका छन् ।
रक्षा मन्त्रालयका अनुसार हमलाको दिन फक्रिजादेका सुरक्षाकर्मी र केही हमलाकारीबीच गोली हानाहान भएको थियो । एउटा इरानी समाचारमा प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बताइएअनुसार ’आतङ्ककारी भनिएका तीनदेखि चारजनालाई मारिएको थियो।’ एउटा निशान कम्पनीको पीकअप गाडी समेत घटनास्थलमै ध्वस्त भएको बताइएको छ ।
उनको त्यो दाबीको पुष्टि हुन सकेको छैन। तेहरानले उक्त हमलाका लागि इजरेल र निर्वासनमा रहेको इरानको एउटा विपक्षी समूहलाई आरोप लगाएको छ । ती वैज्ञानिकलाई अन्तिम श्रद्धाञ्जली दिने क्रममा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका प्रमुखले त्यो ’विशेष तरिका’ र ’विद्युतीय उपकरण’ प्रयोग गरेर टाढाबाट गरिएको हमला भएको बताएका थिए।
