वाणिज्य बैंकहरुमा कर्जाको माग बढ्दो
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा फैलिएको कोरोना माहामारीले समग्र अर्थतन्त्र शिथिल पारेको अवस्थामा पछिल्लो समययता भने ठप्प रहेका उद्योग, कलकारखाना संचालनमा आएसंगै बैंकहरुमा कर्जाको माग बढ्न थालेको छ ।
पछिल्लो समयमा बैंकहरुमा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढेको छ । हाल संचालनमा रहेका २७ वाणिज्य बैंकले निक्षेप संकलनको तुलनामा भन्दा कर्जा प्रवाह धेरै गरेको पाइन्छ ।
वाणिज्य बैंकले १ महिनामा ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । नेपाल बैंकर्स संघद्धारा प्राप्त तथ्यांक अनुसार कात्तिक दोस्रो सातासम्म वाणिज्य बैंकहरुले ३६ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन मंसिरको दोस्रो साता ४२ अर्ब रुपैयाँले बढेर ३६ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।
त्यस्तै यता कर्जा प्रवाहतर्फ भने कातिक दोस्रो साता ३० खर्ब २० अर्ब रुपैयाँ प्रवाह गरेकोमा मंसिरको दोस्रो साता ४६ अर्ब रुपैयाँले बढेर ३० खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ ।
यस्तै, बैंकहरुले कात्तिक तेस्रो साता ३० खर्ब ३१ अर्ब रुपैयाँ र कात्तिक अन्तिम साता ३० खर्ब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर मंसिरको पहिलो साता बैंकहरुमा कर्जा प्रवाह २ अर्ब रुपैयाँले घटेको देखिन्छ भने मंसिरको दोस्रो साता नै १६ अर्ब रुपैयाँले बढेको छ ।
