कुमारी बैंकको १४% लाभांश प्रस्ताव, यस्तो छ विगत १० वर्षको लाभांश इतिहास
काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिने घोषणा गरिसकेको छ । बैंकले चुक्ता पुँजीको १० दशमलव ८५ प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले २०७६/७७ को मुनाफाबाट वितरण गर्न लागेको लाभांश पारितका लागि मंसिर २९ गते २० औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले सभा प्रयोजनका लागि मंसिर १५ गते बुक क्लोज मिति तय गरेको छ । त्यसकारण आज मंसिर १४ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका शेयरधनीले मात्र उक्त लाभांश लिन पाउनेछन् ।
बैंकले विगत लामो समयदेखि निरन्तर रुपमा आफ्ना शेयरधनीहरुलाई लाभांश प्रदान गर्दै आएको छ । बैंकको विगत १० वर्षको लाभांश इतिहासलाई हेर्ने हो भने विगद १० वर्षको अवधिमा नगद लाभांशलाई भन्दा पनि बोनश शेयरलाई प्रथामिकता दिँदै आएको देखिन्छ । बैंकले १० वर्षको अवधिमा कुल १ सय ४३ दशमलव ६३ प्रतिशत लाभांश वितरण गरेको छ । जसमध्ये १ सय २९ दशमलव १ प्रतिशत बोनश शेयर दिएको छ भने १४ दशमलव ५३ प्रतिशत मात्र नगद लाभांश वितरण गरेको देखिन्छ ।

