युनाईटेड इदी-मर्दीको आइपीओ आजबाट विक्री खुला
काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले आजबाट सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।
यसअघि कम्पनीले कात्तिक २७ गते बिहीबारबाट निष्काशन गर्ने भनिएकोमा नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार आइपिओ निष्काशन गर्ने मिति परिवर्तन गरेको थियो । सोही अनुरुप कम्पनीले आजबाट आइपीओ निष्काशन गरेको हो ।
कम्पनीले दोस्रो चरणमा ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । यसअघि कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सोमध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
निष्काशन गरिने कुल शेयरमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले जारी पूँजीको २५ प्रतिशत आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आइपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।

