आगामी बैठकको एजेण्डा तय गर्दै सकियो नेकपाको सचिवालय बैठक
काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक आगामी बैठकको एजेण्डा तय गर्दै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अपरान्ह बसेको बैठकले पार्टीमा उत्पन्न समस्या र त्यसको समाधानलाई एजेण्डा बनाएको हो ।
सचिवालयको अर्को बैठक मंसिर ३ गते दिउँसो एक बजे बस्ने तय भएको छ । बैठक बोलाउन सहमति दिन माग गर्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेश गरेको पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको पत्र र त्यसको प्रतिउत्तरमा प्रचण्डले ओलीलाई लेखेको पत्र तथा अन्तरपार्टी निर्देशिका समेत नेताहरुलाई अध्ययनका लागि दिइएको छ ।
बैठकमा पार्टीभित्र उत्पन्न संकटलाई सूचीबद्ध रुपमा कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । त्यसैगरी बैठकमा पर्सा, कर्णाली प्रदेश लगायतका सांगठानिक संरचनाभित्र देखिएको विवाद, सामन्त गोयलको भ्रमण लगायतका विषयमा पनि छलफल हुने उनले बताए ।
